हाम्रो प्राथमिकता संसद पुनर्स्थापना हो : महामन्त्री कोइराला-Sutra News

हाम्रो प्राथमिकता संसद पुनर्स्थापना हो : महामन्त्री कोइराला

शनिबार, १० माघ २०७७

शनिबार, १० माघ २०७७

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वैशाखमा निर्वाचन सम्भव नभएको बताएका छन् । शनिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस उनले वैशाखमा चुनाव हुनै नसक्ने बताएका हुन् ।



महामन्त्री कोइरालाले कम्युनिष्ट पार्टी फुटिनसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको बताए । ‘अहिले पनि नेकपा पार्टी कानुनी रूपमा फुटेको छैन,’ महामन्त्री कोइरालाले भने, ‘निर्वाचन आयोगले सूर्य चुनाव चिह्न कसलाई आधिकारिक दिन्छ, नपाउने समूहले विरोध र अदालत जान्छ, यही कारण पनि वैशाखमा चुनाव हुँदैन ।’

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर लोकतन्त्र र संविधानमाथि नै कुठाराघात गरेको बताउँदै उनले कांग्रेस पुनर्स्थापनाकै पक्षमा रहेको बताए ।

‘ओलीले तीन वर्षमा विकासका नाममा एक इँटासमेत थप्न सकेनन, ‘उनले भने, ‘जति गिरिजाले तीन वर्षमा थुप्रै ऐतिहासिक काम गरेका थिए ।’ विगतदेखि चलिरहेको कार्यक्रममा ओलीले निरन्तरता मात्र दिएको बताउँदै उनले कोरोना कहरबाट थलिएको अर्थतन्त्र माथि उकास्नका लागि कुनै योजना अघि नसारेको बताए ।

‘हाम्रो आग्रह संसद पुनर्स्थापनाका लागि हो,’ कोइरालाले भने, ‘पहिलो प्राथमिकता संसद पुनर्स्थापना हुनुपर्छ भन्ने हो ।’

उनले पार्टी महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली संकलन अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको बताए ।

मातृशोकमा रहेका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर पुगेको हो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट