काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस प्रतिपक्षी भएकाले अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका हुन् ।
‘केन्द्रमा पनि छाया सरकार बनाएका छौं, यहाँ पनि हामी प्रतिपक्षी हो,’ उनले भने । ‘अविश्वासको प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलापमा हामी जान्छौं ।’
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । उक्त प्रस्तावमा समर्थन गर्ने कि नगर्ने भन्ने भन्नेमा कांग्रेसभित्र विवाद छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा नाममा अस्थिरता ल्याउन खोजेको भन्दै उनले अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरे ।
‘चुनाव गर्न मात्रै जनतामा जाने हो कि जनताको विकास पनि गर्ने हो ?’ पौडेलले प्रश्न गर्दै भने, ‘अदालतबाट प्रधानमन्त्री ओलीको निर्णय सदर गर्ने हो भने कार्यकारी अधिकार हातमा लिएपछि राष्ट्रपति साथमा भएपछि जे पनि गर्न पाइने भयो नेपालमा । जनताको भोटको के अर्थ,’ विराटनगर विमानस्थलमा आज नेता पौडेलले भने, ‘भोट हाल्यो, त्यो भोट एउटा सन्की आएर फाल्दिहाल्छ । यो राष्ट्र जोगाउने एउटै आधार सर्वोच्च अदालतका न्यायमूर्ति हुनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।’