काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादी विद्रोहका सैन्य कमाण्डरहरूलाई बालुवाटारमा बोलाएर भेटघाट गरेका छन् ।
तत्कालीन युद्ध लडेका कमाण्डरहरूलाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर उनले विगतमा जस्तो धोका नपाउने बताए ।
सोही अवसरमा उनले कमाण्डरहरूलाई सम्बोधन पनि गरेका थिए। ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीलाई भेट्न तत्कालीन (नेकपा माओवादी)ले सञ्चालन गरेको सशस्त्र युद्धका केही कमाण्डरहरु बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा विभाजित भएको छ । ओली समूह र दाहाल–नेपाल समूहमा विभाजित नेकपा अहिले नेता, कार्यकर्ता आफ्नो पक्षमा तानातानमा छन् ।