म तानाशाह होइन, संसद् विघटनविरुद्ध बोल्नेहरू देशविरोधी हुन्: प्रधानमन्त्री-Sutra News

म तानाशाह होइन, संसद् विघटनविरुद्ध बोल्नेहरू देशविरोधी हुन्: प्रधानमन्त्री

आइतबार, ११ माघ २०७७

आइतबार, ११ माघ २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी भएको बताएका छन् ।



आइतबार अपांगता भएका व्यक्तिहरूको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद् विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी भएको बताएका हुन् । 

असंवैधानिक भन्नेहरू संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि बताए । संसद् पुर्नस्थापना गर्न चाहनेहरू देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप  प्रधानमन्त्रीको छ ।

संसद् पाँचै वर्ष हुनका लागि सांसदहरूको जागिर नभएकाले सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उनको भनाइ छ ।  आफूले शासक बन्नेगरी हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताए । शारिरीक रूपले अशक्त, असक्षमहरूका लागि सरकार चाहिने भन्दै अशक्तहरुको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । 

उनले अहिले बालबालिकाहरू सडकमा आउनुपर्ने अवस्था नरहेको पनि बताउँदै सडकमा आउने बालबालिकालाई अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य तथा सुनिश्चित भविष्यको प्रत्याभूति सरकारले गराउने पनि भनाइ राखे  ।

प्रधानमन्त्री ओलीले शारिरीक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेश नखान आग्रह गरे । देश विकासमा शारिरीक रूपमा अपाङ्गता भएकाहरूले पनि योगदान दिनसक्ने उनको भनाइ छ । देश गरिब भएपनि आफ्नो नागरिकलाई सक्दो हेरचाह गर्न कुनै कमी नराख्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट