काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद् विघटन गरेपछि अनौपचारिक फुटको निष्कर्षमा पुगेको नेकपामा नयाँ ट्वीस्ट आएको छ ।
नेकपा ओली र प्रचण्ड–नेपाल समूहले एकतर्फी औपचारिकता दाबी गरिरहेको अवस्थामा अन्तिम निर्क्योलको रूपमा निर्वाचन आयोगलाई लिइएको थियो ।
निर्वाचन आयोगले दुबै पक्षलाई वैधानिकताको प्रमाण माग्दै गर्दा दुबै समूहले आफू नै वैधानिक भएको भन्दै निर्वाचन आयोगलाई पत्र पेश गरेको थियो । तर निर्वाचन आयोगले भने नेकपालाई फुटको मान्यता दिएन । निर्वाचन आयोगले आइतबार राती नेकपा फुट्न नसक्ने भन्दै नेकपा एक नै रहेको निर्णय गरेको छ ।
आइतबार बसेको आयोगको बैठकले नेकपा फुट्न नसक्ने निर्णय गरेको हो । दुबै पक्षको मागदावी अनुसार कुनै पनि समूहको मागदावीमा आधिकारिकता नदेखिएकोले सो निर्णय गरेकोसमेत आयोगले जनाएको छ ।
दुबै पक्षको मागदावी अनुसार अभिलेखमा संशोधन, परिवर्तन वा हेरफेर हुन सक्ने अवस्था नरहेको आयोगको भनाइ छ ।
तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकता हुँदै गर्दा पेश गरेको विधान र विवरण साविकको समयसम्म कायम रहेको आयोगले जनाएको छ । सो जानकारी आयोगले दुबै समूहलाई समेत दिएको छ ।
आयोगको निर्णयपछि अब अनौपचारिक विभाजनमा रहेको नेकपा एकताको नेकपामा फर्किएको छ । अब नेकपामा ओली र प्रचण्ड दुई अध्यक्ष र विष्णु पौडेल महासचिव रहेको आधिकारिता रहने आयोगको निर्णयबाट प्रष्ट हुन्छ ।
निर्वाचन आयोगको निर्णयसँगै अब नेकपाको नयाँ बाटो र रणनीति के हुने भन्ने विषयले नयाँ गन्तव्य खोजेको छ ।
प्रचण्ड समूहले ओलीलाई आजै मात्र साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको छ भने ओली समूहले पनि प्रचण्डको कार्यकारी अध्यक्षको भूमिका खोसेको छ ।