प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति-Sutra News

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

सोमबार, १२ माघ २०७७

सोमबार, १२ माघ २०७७

काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । हिजो (११ माघ) संसद् विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएका थिए । कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै ओलीको भनाइलाई अत्यन्तै आपत्तिजनक भनेको हो ।



‘फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो । प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ,’कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि रंग र स्वरुपको अधिनायकवादविरुद्ध संघर्षमा उभिनु देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान भएको बताउँदै कांग्रेसले संसद् विघटन सम्बन्धी मुद्दामा अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञाले अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको बताएको छ ।

त्यसैगरी कांग्रेसले सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएको पनि बताएको छ ।

प्रधानमन्त्री ओलीकै भनाइमा थप आपत्ति जनाउँदै कांग्रेसले आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट भएको टिप्पणी गरेको छ ।

प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेको कांग्रेसले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट