प्रचण्ड–माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यिनीहरू सिङ फुक्लिएको तिल्के गोरुजस्तै हुन्’-Sutra News

प्रचण्ड–माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यिनीहरू सिङ फुक्लिएको तिल्के गोरुजस्तै हुन्’

सोमबार, १२ माघ २०७७

सोमबार, १२ माघ २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लिएको तिल्के गोरुजस्तै भएको टिप्पणी गरेका छन् । दाङमा नवनिर्मित पुलको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवलाई तिल्के गोरुको शंज्ञा दिएका हुन् ।



‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हानुपर्ने, सिंगौरी खेलिहाल्नुपर्ने । भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने’, ओलीले भने, ‘एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो । तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन ।’

प्रचण्ड र माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँफुँ गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिड्दै गर्छन् ।’

ओलीले जनता सचेत भइसकेकाले धाकधक्कु नलगाउन, तिघ्रा नठटाउन र खुट्टा भ्याटभ्याट नगर्न प्रचण्ड–माधवलाई चेतावनी दिए ।  ‘अशान्ति मच्याउने यिनसँग क्षमता पनि छैन । दम पनि छैन । यिनीहरूले अब केही पनि गर्न सक्दैनन्’, उनले भने ।

प्रधानमन्त्री ओलीले अहिलेको संविधानअनुसार नै मैले प्रतिनिधिसभा विघटन गरेको दावी गरे । ‘केही मान्छेहरू निर्वाचन नहोस् भन्ने चाहन्छन् । किनकी उनीहरू जनतामा जान डराएका छन् । गए भने त जनताले धुलो चटाइदिन्छन् ।’

उनले निर्वाचन हारेकाहरूले रेष्टुरेन्ट र चौतारीमा बसेर आफूलाई कारबाहीको नाटक गरेको टिप्पणी गरे । ‘केही मान्छेहरू बैठकमा नआएर, चोकचौतारामा बसेर अध्यक्ष बनाएका थिए, निर्वाचन आयोगले अध्यक्षसध्यक्ष खतम पारिदियो ‘ उनले नेपालप्रति व्यंग्य गर्दै भने, ‘केपी ओलीलाई साधारण सदस्यबाटै निकालिदिए रे! तपाईंहरूलाई कुरा सुन्दा हाँस्न मन लागेन?’ प्रधानमन्त्री ओलीले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट