काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको बताएका छन् । अन्तरपार्टी महिला सञ्जालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सरकारको काममा प्रतिनिधिसभाले सधैं सहयोग गरेको र कुनै पनि अवरोध नभएको स्पष्ट पारे ।
सभामुख सापकोटाले भने, ‘सरकारको नीति तथा कार्य होस् वा बजेट पास गर्ने विषयमा प्रतिनिधिसभाले सहयोग गरेको छ । कार्यपालिकालाई पूर्ण रुपमा सहयोग नै गरिएको छ । कुनै पनि असहयोग भएको छैन ।’
पछिल्लो पटक प्रतिनिधिसभा विघटनका सम्बन्धमा पनि आफ्नो तर्फबाट विज्ञप्तिमार्फत पनि अवस्थाको बारेमा जानकारी गराएको र सर्वोच्च अदालतमा स्पष्ट रुपमा आफ्नो धारणा पठाएको उनको भनाइ छ ।
सभामुखको हैसियतले के गर्न सकिन्छ भन्ने बारेमा आफूले गम्भीरतापूर्वक चिन्तन मनन गरिरहेको जानकारी दिए ।
उँनले प्रतिनिधिसभाको सञ्चालनमा अवरोध आएको उल्लेख गर्दै राजनीतिक दल, नागरिक समाज तथा सरोकार भएका व्यक्ति वा निकायले प्रकट गरेको विश्वासलाई आफूले सम्मान गर्ने बताए ।
अन्तरपार्टी महिला सञ्जालले नेपालको संविधानमा प्रतिनिधिसभा विघटनसम्बन्धी कुनै पनि प्रावधान नभएको भन्दै संवैधानिक र कानूनी आधार बिना गरिएको विघटन आफूहरुलाई मान्य नभएको उल्लेख गरेको छ ।
नेपालको संसदीय प्रणाली मौलिक विशेषता सहितको भएको स्पष्ट पार्दै सञ्जालले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्न सभामुखलाई आग्रह गरेको छ ।
सञ्जालका अध्यक्ष सावित्रा भुसाललको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको थियो ।