ट्रम्पले स्थापना गरे फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यालय’-Sutra News

ट्रम्पले स्थापना गरे फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यालय’

मंगलबार, १३ माघ २०७७

मंगलबार, १३ माघ २०७७

पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।



‘पूर्व राष्ट्रपतिको कार्यालयबाट उनले पूर्व राष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुनेछ,’ उनका सहयोगीहरुले भनेका छन् । सो कार्यालयबाट पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्यहरु हुने पनि उनका सहयोगीहरुले जनाएका छन् ।

त्यसैगरी ट्रम्पको कार्यकालमा भए गरेका कामहरुको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि यस कार्यालयबाट गतिविधिहरु हुने जनाइएको छ ।

नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र त्यसका विरुद्धमा जनमत आफ्नो पक्षमा पारिरहने रणनीति पनि यस कार्यालयले अपनाउने अनुमान गरिएको छ ।

‘राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उनलाई आफ्नो अभिभावक मानेका छन्,’ उनको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

उनको कार्यालयको नामलाई आधार मान्दा उनी सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्ने छैन भनेर भन्न नसकिने टिप्पणी गरिएको छ । तर उनी र उनका सल्लाहकार तथा सहयोगीहरुले भने यस बारेमा स्पष्ट पारेका छैनन् ।

यही जनवरी २० तारिखमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि पूर्वराष्ट्रपति ट्रम्प सोमबारसम्म मौन रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट