काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।’
उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन् सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए ।
उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिएँ,’ उनले भने, ‘अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु।’