गण्डकी प्रदेशका ११ वटै जिल्लामा भोलि एकैसाथ कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने-Sutra News

गण्डकी प्रदेशका ११ वटै जिल्लामा भोलि एकैसाथ कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

मंगलबार, १३ माघ २०७७

मंगलबार, १३ माघ २०७७

कास्की- गण्डकी प्रदेशका ११ वटै जिल्लामा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धकोे ‘कोभिसिल्ड’ खोप लगाउन सुरु गरिने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज साँझ पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरी प्रदेशका सबै जिल्लामा खोप सामग्री पुर्याइसकिएको र भोलिदेखि माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।



मुख्यमन्त्री गुरुङले खोप कार्यक्रमको शुभारम्भ गर्ने र सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम सुरु हुने मन्त्रालयले जनाएको छ ।

प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप लगाइने सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बताइन् ।

उनका अनुसार यही माघ ११ गते गण्डकी प्रदेशका लागि ३९ हजार १३९ मात्रा भ्याक्सिन प्राप्त भएको र प्रदेश तह र जिल्लास्तरमा भण्डारण, ढुवानी र वितरणको योजना तयार गरिसकिएको छ ।

पहिलो मात्राको खोप दिएको एक महिनापछि अर्को मात्रा लगाइने छ । पहिलो चरणको खोप कास्कीमा पाँच हजार ६७१, गोरखामा एक हजार ८०८, बाग्लुङमा एक हजार ७७०, लमजुङमा एक हजार ५८२, तनहुँमा एक हजार ६९९, स्याङ्जामा एक हजार ५४१, नवलपुरमा एक हजार ५२, पर्वतमा एक हजार २३९, म्याग्दीमा ८४३, मुस्ताङमा २१९ र मनाङमा २०६ जना अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई लगाइने जनाइएको छ ।

खोप प्राप्त भएपछि उच्चस्तरीय समन्वयतात्मक बैठक बसेर खोप कार्यक्रम सञ्चालन र परिचालन योजना, खोप ढुवानी र प्रादेशिक परिचालन टोली निर्धारण, खोप केन्द्र पहिचान र निर्धारण तथा जिल्ला र खोप केन्द्रलाई तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट