सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरमा निःशुल्क बन्ध्याकरण रोग अन्वेषण तथा रेविजविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको हो ।
कर्णालीमा प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरलाई पहिलोपटक बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
सामुदायिक कुकुरका कारण राजमार्ग तथा अन्य सडकमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकाले बन्ध्याकरणसहित रेविज रोगको खोप पनि लगाइने भएको छ ।
कुकुरका कारण विभिन्न समस्या हुने भएकाले कुकुरको सङ्ख्या घटाउन शिविर सञ्चालन गरिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा.कृष्णराज पाण्डेले बताए ।
कुकुरको जनसङ्ख्या बढ्न नदिन तथा उचित व्यवस्थापनका लागि बन्ध्याकरण गर्न लागिएको प्रमुखका भनाइ छ ।