ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डका कारण पार्टीमा समस्या : ईश्वर पोखरेल-Sutra News

ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डका कारण पार्टीमा समस्या : ईश्वर पोखरेल

बुधबार, १४ माघ २०७७

बुधबार, १४ माघ २०७७

काठमाडौं- नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने अभ्यासले पार्टीभित्र समस्या आएको बताएका छन् । पार्टीमा उत्पन्न संकटका विषयमा बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले प्रचण्डका कारण पार्टी विभाजनको दिशामा पुगेको बताएका हुन् ।



उनले भनेका छन्, ‘आफू अनुकूल वातावरण बनाउने वा वातावरण अनुकूल बनेको ठानेर पूर्व समूहहरूमा लामै समयदेखि रहँदैआएको गुटवन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ ‘समिकरण’ बनाउने–सन्दर्भ समूह बनाउने–र त्यसकै बलमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल प्रचण्डले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण त्यो साझा सहमति अघि बढ्न सकेन, कार्यान्वयन हुन सकेन ।

तीन बुँदामा स्टाटस लेखेका पोखरेलले पार्टी भएको विवाद, प्रचण्डको कार्यशैली र आम कार्यकर्ताले अब अपनाउनुपर्ने बाटोको विषय आफ्नो भनाइ राखेका छन् ।

हेर्नुहोस् पोखरेलले लेखेको स्टाटस

निर्वाचन आयोगको निर्णय र नेकपाको भविष्य
 
माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखापरेको चरम अराजक, चरम गुटबन्दी र हावी हुनपुगेको फुटवादी गतिविधिका कारण सिर्जना हुनपुगेको गम्भीर अवस्थामाथि औंला ठड्याएको छ-
 
(१) तत्कालीन नेकपा (एमाले) र माओवादीबीच एकता गर्दाका समयमा गरिएको निर्णयका आधारमा मात्र अघि बढ्न सकिन्छ र त्यस विपरीत गरिएका वा गरिने कुनै पनि निर्णय वा कामलाई चिनिदैन भन्ने निष्कर्ष दिएको छ निर्वाचन आयोगले । त्यो सहमति भनेको, त्यसबेला व्यवस्था गरिएको दुई अध्यक्षबीचको सहमती र त्यही सहमतीका आधारमा कार्यसूचीहरूको निर्धारण र त्यसै आधारमा तयार गरिने प्रस्ताव तथा त्यसमाथि कमिटीमा गरिने छलफल तथा गरिने निर्णय र निकालिने निष्कर्ष हो । र, त्यसैका आधारमा मात्र अघि बढ्नुपर्ने सहमति हो । अर्थात्, सहमतिको प्रस्थान विन्दु – दुई अध्यक्षबीचको सहमति हो । त्यही जग र त्यहींबाट अघि बढ्ने प्रक्रियाबाट एकता महाधिवेशनसम्म पुग्ने संकल्प पनि हो । तर, आफू अनुकुल वातावरण बनाउने वा वातावरण अनुकुल बनेको ठानेर पूर्व समूहहरूमा लामै समयदेखि रहँदै आएको गुटबन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ ‘समिकरण’ बनाउने – सन्दर्भ समूह बनाउने – र त्यसकै बलमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल प्रचण्डले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण त्यो साझा सहमती अघि बढ्न सकेन, कार्यान्वयन हुन सकेन । त्यसका कारणले सिर्जना हुनपुगेको राजनीतिक अस्थीरताको झण्झावात , अराजकता र उद्दण्डताको सिलसिलाको शंखघोष हुनथाल्यो जुन मुलुकका लागि अत्यन्त अपशकुन वा दुर्भाग्यको गम्भीर संकेत बन्न पुग्यो । प्रवल वन्दै गएको यही अपशकुनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले त्यही ‘ऐतिहासिक प्रारम्भिक ‘विन्दुमा उभिनुपर्ने अपरिहार्य आवश्यकतालाई औंल्याएकोछ । धन्यवाद छ, निर्वाचन आयोगलाई !
 
(२) नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई स्वीकार गरेन निर्वाचन आयोगले । पार्टी एकता गर्दाका समयमा खडा गरिएको सांगठनिक संरचना वा पदीय हैसियतलाई अस्वीकार गर्न चाहेन र गर्न मिल्दैन भन्यो निर्वाचन आयोगले । यही पृष्ठभूमिको आधिकारिकता समेतलाई स्वीकार गर्यो निर्वाचन आयोगले । पार्टी अध्यक्षको पदमा महिमा मण्डन हुन चाहनेहरूलाई पनि पार्टीको  वैधानिक र औपचारिक मञ्चबाहेक सार्वजनिक चोक चौतारीमा बसेर यस्तो नगर र गर्न मिल्दै – मिल्दैन भन्यो निर्वाचन आयोगले। फूटको वकालत गर्नेहरू, यसैमा रमाउनेहरू , यसो गर्दा आफ्नो पदीय आकांक्षा पूरा हुने दुस्वप्न देख्नेहरूलाई समेत राम्रो सवक मिलेको हुनुपर्छ निर्वाचन आयोगको यो निर्णयबाट ।
 
(३) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब के हुन्छ ? जोडिन्छ कि तोडिन्छ ? जंगली महत्वाकांक्षा बोकेर यसबीचमा आम जनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर जे-जस्ता ( कू) कर्महरू गरिए – जे-जस्ता आत्मघाती कामहरू गरिए – तिनलाई लिएर पश्चाताप गर्ने र क्षमा माग्ने काम गरिनुपर्छ सम्बन्धितहरूबाट । त्यस्ता काम गर्नेहरूले जुन उचाइबाट यो काम गर्नेछन्- त्यही उचाइबाट पार्टीको नवनिर्माण प्रारम्भ हुनेछ । अहिले, यतिबेला नेकपाको जीवनसित गाँसिएर देशव्यापी रूपमा देखिदै गएको सामाजिक जागरणलाई एउटा सार्थक अभियानका रूपमा अघि बढाउनु आवश्यक छ । नेकपाभित्र “आउट डेटेडहरू” बाहिरिने र
“अपडेटेड“ भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आइपुगेकोछ ! नेकपा त अघि बढ्छ- बढ्छ साथै, नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका अभियन्ताहरू- सबैका लागि एउटा महत्वपूर्ण शिक्षा बन्नसक्छ नेकपाको जीवनसित गाँसिएर प्रकट भएको अहिलेको घटना !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट