काठमाडौं- निर्वाचन आयोगले विभाजित नेकपाका दुवै समूहलाई निर्वाचनका विषयमा छलफल गर्न बोलाएको छ । आयोगले पत्र पठाएर दुवै समूहका अध्यक्ष वा अध्यक्षले तोकेका पाँच-पाँचजना प्रतिनिधिलाई बोलाएको हो ।
‘भोलि साढे ११ बजे अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधि पाँच-पाँच जना बोलाइएको छ,’आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने,‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र तयारीका विषयमा छलफल गर्न बोलाइएको हो ।’
नेकपाका दुवै समूहले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो । आयोगको निर्णयलाई दुवै समूहले आआफ्नो जितका रूपमा व्याख्या गर्दै आएका छन् ।
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा निर्वाचन आयोगले भने निर्वाचनका गतिविधि अघि बढाएको छ ।
नेकपाकै ओली समूह प्रतिनिधिसभा पुनस्र्थापना नहुने जिकिर गर्दै निर्वाचनको तयारीमा जुटेको छ भने प्रचण्ड-नेपाल समूह भने प्रतिनिधिसभा विघटन गर्ने सरकारकाविरुद्ध आन्दोलनमा छ ।