काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि तीन महिनामा नागरिक समाज बन्ने टिप्पणी गरेका छन् । बिहीबार नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधव पनि तीन महिनामा नागरिक समाज बन्ने बताएका हुन् ।
ओलीले गत सोमबार बालुवाटार पदर्शनमा सहभागी भएका नेकपा दाहाल–नेपाल समूहका नेता रघुजी पन्तप्रति इंगित गर्दै बाँकी नेताहरू पनि सोही बाटो जाने बताए ।
‘एकजना साथी त अस्ति नागरिक समाजको अगुवा भएर जानुभएछ । मैले यसो हेरेँ, चित्रमा नियालेर, अरु छन् कि छैनन् भनेर । अरु अझै गएका रहेनछन् । प्रचण्ड माधवहरूको पनि बाटो त्यही हो । उनीहरू पनि नागरिक अगुवा भएर त्यहीँ पुग्छन् । पार्टी–सार्टी सिद्धिन्छ’, ओलीले भने, ‘तीन महिना लाग्छ, तीन महिना । तीन महिनामा नागरिक समाज यिनीहरू पनि हुन्छन् ।’
उनीहरूलाई पिलो निचोरिएको संज्ञा दिँदै ओलीले पार्टी महान् शुद्धीकरणमा प्रवेश गरेको दाबी गरे ।