काठमाडौं- निर्वाचन आयोगले आज नेकपाको दुवै समूह (ओली र प्रचण्ड-नेपाल) सँग छलफल गर्दैछ । आयोगले नेकपाका दुवै समूहलाई बिहीबार छुट्टाछुट्टै पत्र लेखेर छलफलका लागि कार्यालयमा बोलाएको हो ।
आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका विषयमा छलफल गर्न आफूहरूलाई बोलाएको नेकपा दाहाल-नेपाल पक्षका नेताहरूले जानकारी दिएका छन् ।
यता ओली समूहका नेताहरूले पनि निर्वाचन आयोगबाट छलफलका लागि बोलाइएको बताएका छन् । आयोगले बिहान साढे ११ बजे दुवै समूहबाट पाँच पाँच जनालाई छलफलका लागि बोलाएको हो ।
आयोगले पठाएको पत्रमा मतदाता नामावली र निर्वाचन केन्द्रबारे छलफल गर्ने उल्लेख भए पनि नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे पनि छलफल हुने बताइएको छ ।