गायक मिलन लामाले बनाइदिए विपन्नलाई घर-Sutra News

गायक मिलन लामाले बनाइदिए विपन्नलाई घर

शुक्रबार, १६ माघ २०७७

शुक्रबार, १६ माघ २०७७

चितवन- लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन् । लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गरेका हुन् ।



घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमान्को मृत्यु भएपछि मधु र उनकी दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आएका थिए । उनीहरूको दयनीय अवस्था देखेपछि गायक लामाले छ लाख खर्च गरेर जस्तापाताले छाएको एकतले नयाँ पक्की घर निर्माण गरिदिएका हुन् ।

उनले सो घर सो कुमाल परिवारलाई बिहीबार हस्तान्तरण गरेका छन् । विदेशमा रहेका साथीसँग सहयोग जुटाएर घर निर्माण गरेको गायक लामाले बताए । घरसँगै धारासमेत बनाइएको छ । स्थानीय पत्रकार होमनाथ सापकोटाका अनुसार अतिविपन्न वर्गका लागि घर बनाउन गायक लामाले विदेशमा आफूले गीत गाएवापत आउने पैसाले घर निर्माण अभियान सुरु गरेका थिए ।

‘जीवनकालभर मिलन होम, १०० होम’ भन्ने अभियानका साथ विपन्न समुदायको घर निर्माण सुरु गरेका गायक लामाले अहिलेसम्म १६ घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकेका छन् । विपन्नका लागि आर्थिक जोहो गर्न लामा स्वदेशसँगै विदेशमा समेत गीत गाउन जाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट