काठमाडौं- गुठी संस्थान काठमाडौं शाखा कार्यालयले काठमाडौं महानगरपालिका-२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ । शाखाले बिहीबार शहनशीला शर्मा झालाई नियुक्त गरेको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।
झा पहिलो महिला पुजारी भने नभएको कार्यालय प्रमुख सुवेदीले बताए । यसअघि ललितपुरको गोदावरीस्थित पञ्चदेवललगायतका मन्दिरमा पनि महिला पुजारी नियुक्त भइसकेको संस्थानले जनाएको छ ।
सहनशीलाका भाइ प्रमोदले मन्दिरको पूजा गर्दै आएकामा विदेश गएपछि उनलाई पुजारीमा नियुक्त गरिएको हो । झालाई एक वर्ष परीक्षणकाल रहने गरी बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको हो ।
लगत दरबन्दीअनुसारको नित्य र पर्व पूजाबापतको खर्च पाउने गरी नियुक्त गरिएको संस्थान शाखा कार्यालय काठमाडौंका प्रमुख सुवेदीले जानकारी दिए ।