गलकोट- नेपालमा कोरोना संक्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुसी देखिन्छन् ।
गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् ।
भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा समेत लगाउन थालिएको छ । स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ ।
कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाट समेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन् ।
बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुसी लागेको बताए ।
‘कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो’, डा.पराजुलीले भने, ‘जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु ।’
धौलागिरि अस्पताल नेपालमै पाँचौँ र छैटौँ कोरोना संक्रमितको उपचार गराउने अस्पतालका रुपमा रहेको छ । पराजुलीले खोप ढुक्क भएर लगाउन अन्य स्वास्थ्यकर्मीलाई समेत अनुरोध गरेका थिए ।
पहिलो दिनमै बागलुङका ११७ स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए । दोस्रो दिन बिहीबार २७८ ले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए । गुरौँका अनुसार बागलुङमा एक हजार ९६० डोज खोप आएको छ ।
डा.पराजुलीले जुनसुकै खोपमा पनि सामान्य प्रतिक्रिया देखा पर्ने भन्दै सबैलाई संयमित हुन आग्रहसमेत गरेका थिए । खोपका बारेमा चलाइएका अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गर्दै डा. पराजुली खोप सबैसम्म पुर्याउनुपर्ने र आमनागरिकले अब प्रयोग गर्नुपर्ने धारणा राख्छन् ।
स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे खोप लगाउनेको व्यवस्थापनमा खटिएका छन् । उनले सबैलाई खोप लगाएपछि अन्तिममा लगाउने बताए ।
‘सेवामा खटिँदा संक्रमित नै भएँ, अहिले स्वयंसेवीलाई खोप लगाउने व्यवस्थापनमा खटिएको छु’, घिमिरेले भने, ‘यही डोजको अन्तिम खोप लगाउने योजनामा रहेको छु ।’ संक्रमित भएरसमेत स्वस्थ भई काममा खटिएको र खोप आउँदा आफू खुसी भएको उनको भनाइ छ ।
आफूले खोप लगाउन पाउँदा निकै खुसी भएको धौलागिरि अस्पतालमा कार्यरत सिनियर अनमी टीकादेवी रिजालले बताए ।
आफूले बुधबार बिहान कोरोना खोप लगाएलगत्तै सेवामा खटिएको बताए । ‘पहिले संक्रमणको भय हुँदाहुँदै सेवामा खटिएको थिएँ’, रिजालले भने, ‘अब ढुक्क भएर सेवा दिन पाइने भयो ।’ खोप लगाउन डराउन नहुने उहाँको भनाइ रहेको छ ।
यस्तै धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी प्रदीप आचार्य र निर्मला पौडेलले खोप लगाएर ढुक्कका साथ सेवामा खटिँदा खुसी भएको बताए ।
अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले खोप लगाएपछि अर्को चरणमा अन्य सर्वसाधारणलाई खोप लगाइने जनाइएको छ । खोप लगाएका कसैमा कुनै समस्या नआएको अस्पतालले प्रष्ट पारेको छ । रासस