काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्त हुन ताजा जनादेश उपयुक्त हुने बताएका छन् ।
शनिबार ट्वीट गर्दै थापाले हामीले गरेको निर्वाचनको समर्थन केपी ओली र सरकारको नभइ संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्ति भएको उल्लेख गरे ।
‘बहुमत प्राप्त प्रमले प्रतिनिधिसभा विघटन गर्नेबारे संविधानमा केहि अस्पष्ट छ, त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ । यसमा व्याख्याको जरुरी छ । संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक हो’ उनले लेखेका छन् ।
संसद् विघटनले भन्दा पुनर्स्थापनाले अस्थिरता ल्याउने उनले बताए । चुनावमा पूर्णबहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर, सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापी नभएको भन्दै बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास भएको बताए ।
निहित स्वार्थको निम्ति करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सृजना गर्ने कार्यले संविधान र प्रजातन्त्रलाई कमजोर बनाउने उल्लेख गर्दे थापाले सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुँदा राजनीतिक दल र नेताहरू नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा बढेको बताए ।