काठमाडौं- नेकपाको ओली समूहले लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश कमिटी र लुम्बिनीका १२ वटै जिल्लामा जिम्मेवारी हेरफेर गरिएको हो । ओली समूहले ओनसरी घर्तीलाई हटाएर प्रदेश अध्यक्ष लीला गिरीलाई बनाएको छ । नेकपाको राजनीतिक विभाजनअघि घर्ती प्रदेश अध्यक्ष थिइन्।
यद्यपि अहिले पनि दाहाल–नेपाल समूहको प्रदेश अध्यक्ष भने उनी घर्ती हुन् । लीला गिरी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री समेत हुन् । यस्तै ओली समूहले प्रदेशका जिल्ला कमिटीमा पनि दाहाल–नेपाल समूहलाई हटाएर आफू निकटकालाई जिम्मेवारी दिएको छ ।
रुपन्देहीमा संयोजक शिव सुवेदी, सहसंयोजक तेजेन्द्र केसी र सचिवका रूपमा अनुप बराललाई जिम्मेवारी तोकिएको छ । यस्तै दाङमा हुकुमबहादुर बस्नेतलाई संयोजक, मनोहर बुढाथोकीलाई सचिवको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्ला दाङमा पुरानो कमिटीका टीकाराम खड्कासहित पदाधिकारीहरू दाहाल–नेपाल समूहमा लागेपछि ओली समूह निकटलाई नयाँ जिम्मेवारी दिइएको हो ।
कपिलवस्तुमा साविककै झबिलाल पोखरेललाई संयोजक तोकिएको छ । सहसंयोजक डम्मर शर्मा र सचिव धर्म भुसाल छन् । बाँकेमा संयोजकमा सूर्य ढकाल, सहसंयोजकमा किष्मत कक्षपति र सचिवमा प्रमोद धिताललाई तोकिएको छ ।
त्यस्तै बर्दियामा लालबहादुर श्रेष्ठ संयोजक, शालिकराम अधिकारी सहसंयोजक र पदम ढकाललाई सचिवको जिम्मेवारी दिइएको छ । गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक बालसिंह काउचा र सचिवमा धर्मबहादुर विकलाई तोकिएको छ । ओली समूहले प्युठानमा तुल्सीराम शर्मालाई संयोजक तोकेको छ ।
अर्घाखाँचीमा चेतनारायण आचार्यलाई संयोजक र तोजबहादुर रायमाझीलाई सचिवको जिम्मेवारी दिइएको छ । पाल्पामा संयोजकमा नारायणप्रसाद आचार्य, सचिवमा ओमबहादुर घर्ती र नवलपरासी पश्चिममा संयोजकमा दीपेन्द्र अधिकारीलाई चयन गरिएको छ ।