काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले पतनको बाटो रोजेको बताएका छन् । संसद् विघटनको विरोधमा सो समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभामा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
नायकको रूपमा चित्रित गरिएका ओलीले आफ्नै बुद्धिले इतिहासमा कलंकको टीका लगाएको प्रचण्डको भनाइ छ । जसबाट आफूलाई दुःख लागेको उनले बताए ।
उनले भने, ‘आफ्नै बुद्धिले, आफ्नै कर्मले, उहाँ अहिले इतिहासमा कलंकको टीका लगाउनुभएको छ । पतनको बटो हिँड्नुभएको छ । आफूले आफैंलाई खलनायकको रुपमा स्थापित गर्नुभएको छ । यो भन्नुपर्दा मलाई कुनै खुसी छैन । दुःख छ ।’