काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चितवनमा प्रदर्शन भएको छ । ओली आज चितवन जाने भएपछि प्रचण्ड–माधव समूहले विरोध प्रदर्शन गरेका हुन् । प्रचण्ड-माधव समूह निकट विद्यार्थी संगठन र चितवनमा कार्यकर्ताले ओलीविरुद्ध चर्का नारावाजी गर्दै टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेजको मागसहित बाटोमा पर्चा पनि छरेका थिए । सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुल्चोक गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने कामको शिलान्यास गर्न ओली त्यसतर्फ गएका हुन् ।
ओलीले भरतपुरको केन्द्रीय बसपार्कमा आयोजना हुने आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । भरतपुर महानगरपालिकाले उपलब्ध गराएको चार बिघा चार कट्ठा जमिनमा सिटी हल बन्दै छ भने संघीय सरकारकै बजेटमा ६ किलोमिटर लामो ६ लेनको सडक निर्माण हुँदैछ ।
विरोध प्रदर्शनपछि चितवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।