‘श्री ५ को सरकार’ भनेकोमा मणि थापाले मागे माफी-Sutra News

‘श्री ५ को सरकार’ भनेकोमा मणि थापाले मागे माफी

आइतबार, १८ माघ २०७७

आइतबार, १८ माघ २०७७

काठमाडौं- खानेपानी तथा सरसफाइ मन्त्री तथा नेकपा ओली समूहका नेता मणि थापाले शनिबार (१७ माघ) एक कार्यक्रममा भाषण गर्दा भएको त्रुटिप्रति क्षमायाचना गरेका छन् ।



सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्ने क्रममा उनले ‘नेपाल सरकार’ भन्नुपर्नेमा झुक्किएर श्री ५ को सरकार भन्न पुगेका थिए । भूलवस श्री ५ को सरकार भनेपछि तत्काल त्यसलाई सच्याएको मन्त्री थापाले बताएका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘‘शनिबार नेपाल कम्युनिष्ट पार्टी ओली समूहले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्‍नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । मेरो पुरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

शनिबार सम्बोधनको सुरुमै मन्त्री थापाले ‘सुर्खेतका जनसमुदायलाई स्वागत गर्छु’ भने । त्यसपछि उनले ‘सबैलाई सम्मान गर्न चाहन्छु, जो मन्चमा आसिन हुनुहुन्छ । यहाँ उपस्थित सुर्खेतका जनसमुदायलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारको तर्फबाट स्वागत गर्न चाहन्छु,’ भनिदिए ।

तत्कालै कार्यक्रमका उद्घोषकले सम्झाएपछि माफी माग्दै उनले ‘नेपाल सरकार’ भनेका थिए । उनको सम्बोधनको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट