सुरेन्द्र पाण्डे भन्छन्- राजावादीहरूले ओलीलाई राजनेता भन्न थालेका छन्-Sutra News

सुरेन्द्र पाण्डे भन्छन्- राजावादीहरूले ओलीलाई राजनेता भन्न थालेका छन्

आइतबार, १८ माघ २०७७

आइतबार, १८ माघ २०७७

काठमाडौं नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजावादीहरूले राजनेता भन्न थालेको टिप्पणी गरेका छन् ।



प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै पाण्डेले ओलीले राजावादीहरूको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका हुन् ।

उनले ओलीमाथि हिन्दु राज्य बनाउने कोशिस गरेको आरोप लगाए । केही दिन पहिले पशुपतिमा गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै उनले भने, ‘अब ओली कम्युनिष्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन् ।’

प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलमा माघ १४ गतेदेखि जारी धर्नामा आइतबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि सहभागी भएका थिए । त्यस्तै धर्नामा विघटित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभा, प्रदेशसभाका सदस्यलगायतका नेता कार्यकर्ता उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट