काठमाडौं- कोरोना भाइरस संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३३० जना पुगेको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा संक्रमण देखिएको छ ।