कथाः चाप्लुसीको कला-Sutra News

कथाः चाप्लुसीको कला

आइतबार, १८ माघ २०७७

आइतबार, १८ माघ २०७७

एउटा देशमा एकजना राजा थिए, जो आसेपासे र प्रशंसकहरूसँग मात्र बस्न रूचाउँथे । आलोचक उनलाई मनपर्दैनथ्यो । राजाको यही स्वभाव बुझेर चाटुकार-चाप्लुसीबाजहरू उनको वरिपरि चक्कर लगाइरहन्थे ।



एकदिन दरबार नजिकैको जंगलबाट केही स्यालहरू कराइरहेको आवाज राजाले सुने र आफ्ना ती ‘खास मान्छेहरू’ सँग सोधे, ‘स्यालहरू किन रोईरहेछन् हँ ?

आसे-पासेहरूले भने, ‘महाराज ! स्यालहरू भोकै छन्, खानेकुरा दियो भने रुदैनन् । राजाले आदेश दिए- यी लेऊ पैसा, तिनीहरूलाई दानापानीको व्यवस्था गर्नू ! चाटुकारहरूले त्यो रुपैयाँ/पैसालाई एकापसमा बाँडेर राजाको आदेश तामिल गरे ।

दोस्रो दिन स्यालहरू फेरि रोईरहेथे । राजालाई स्यालहरू पुनः रुनुको कारण जान्न मनलाग्यो र सोधे- अब किन रोइरा’छन् ? आसे-पासेहरूले भने- स्यालहरू जाडोले रोइरहेछन्, उनीहरूलाई केही ओढ्ने-ओछ्याउने लुगाफाटो दियोभने रुन बन्द गर्छन् ।

राजाले स्यालहरूलाई कम्बल बाँड्ने आदेश दिए । चम्चेहरूको दिन चम्क्यो । आपसमा फेरि बाँडीचूडी खाए । तर रात पर्दानपर्दै स्यालहरू रोएको आवाज पुनः सुनियो । अब यिनीहरूलाई के चिजको आवश्यकता पर्‍यो भनेर राजाले सोधे । ‘बस्ने घर मागिरहेछन् महाराज ! भनेर चाप्लुसहरूले उत्तर दिए । राजाले तुरुन्त स्यालहरूको लागि बासको व्यवस्था गर्ने आदेश दिए । खुरापातहरूलाई फेरि खुदो पल्ट्यो ।

अर्को दिन बिहान हुँदानहुँदै स्यालहरू फेरि चिच्याइरहेथे । राजालाई आश्चर्य भो । राजाले सोधे– अब के कुरामा यिनीहरू चिच्याइरा’छन् ? तब खुशामद गर्नेहरूले भने– महाराज ! हजुरले यिनीहरूको सारा माग पूरा गरिदिनुभयो ।

त्यसैले यिनीहरू अत्यन्त खुसी भएर हजुरको दीर्घायुको कामना गर्दै जिन्दावादको नारा लगाइरहेछन् । अब यिनी (स्यालहरू) सधैं हजुरको सम्मानमा बिहान-दिउँसो-बेलुका-राती जिन्दावादको नारा लगाएर कराइरहनेछन् ।

चाटुकारहरूको कुरा सुनेर राजा खुशी भए । अच्छी-खासी पैसा कमाएकाले (चम्चेहरू) पनि खुशी भए । तर राजालाई के थाहा ? कराउनु त स्यालहरूको धर्म हो, गुण हो । हुँ…ऊँ…हुँ…ऊँ… गर्दै रुनु स्यालको स्वभाव नै हो । उनीहरू त्यही धर्म पूरा गर्दैथिए ।

जान्नुपर्ने कुरा, चाप्लुसीको कलामा निपूर्ण मान्छेहरू नदी तरे लगत्तै माझीलाई लात मार्ने कलामा पनि निपूर्ण हुन्छन् । ख्याल गरौं है !

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट