काठमाडौं- प्रतिनिधिसभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले सिर्जनात्मक रुपमा आन्दोलन गरेका छन् । आइतबार सिफलमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुले प्रतिनिधिसभा विघटनको विरोधमा आफ्नो कला तथा सिर्जनाको माध्यमबाट विरोध प्रदर्शन गरेका हुन् ।
‘प्रतिगमनका विरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिइएको आन्दोलनमा साहित्यकार, लेखक, पत्रकार, प्राध्यापक, गीतसंगीतका श्रष्टा, विद्यार्थी लगायत नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कविता वाचन तथा संगीतिक प्रस्तुति राखिएको थियो । शिक्षाविद् केदारभक्त माथेमाले सरकारले संवैधानिक अंगहरुमाथि हस्तक्षेप गरेकाले हस्तक्षेप बन्द गर्नुपर्ने बताए ।
सरकारले विश्वविद्यालय लगायत राज्यका कुनै पनि निकायमा राजनीतिक हस्तक्षेप गर्न नहुने, संघीयताप्रति सरकारको प्रतिबद्धता हुनुपर्ने र समाजवादको प्रतिबद्धता हुनुपर्ने उनको भनाइ छ ।
लेखक खगेन्द्र संग्रौलाले नागरिक आन्दोलनको मर्म संसद पुनःस्थापना र संविधानको रक्षा गर्नुमात्रै नभएर संविधान संशोधन गराउनेसम्म रहेको बताए । नागरिक आन्दोलनको शक्ति बढ्दै गएमा संविधान पुर्नलेखनको माग आफूहरुको रहेको उनले बताए ।
नागरिक आन्दोलनमा समसामयिक राजनीतिक परिवेशसँग सम्बन्धित कार्टुन तथा प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो ।