पार्टीभित्रैबाट छापामार शैलीमा फरक खालका गतिविधि भए, बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपर्योः अर्थमन्त्री पौडेल-Sutra News

पार्टीभित्रैबाट छापामार शैलीमा फरक खालका गतिविधि भए, बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपर्योः अर्थमन्त्री पौडेल

आइतबार, १८ माघ २०७७

आइतबार, १८ माघ २०७७

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्रैबाट छापामार शैलीमा संविधानभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रस्ट्याएका छन् ।



मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्र्धन सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छापामार शैलीमा संविधान र कानूनको प्रबन्ध र संसदीय दलको विधानभन्दा पृथक खालका अभ्यासहरु गर्ने षड्यन्त्र भएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।

उनले अनुशासित प्रतिनिधिसभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधिसभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पनि बताए ।

संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशील र अनुशासित प्रतिनिधिसभाको आवश्यकता रहेको तर्क गरे ।

सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका कामहरु गरिरहँदा ती कामहलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टी भित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा बिग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरु भएको पनि बताए ।

सरकारले गरेका कामबाट विपक्षीहरुले विरोध गर्ने विषय नपाउँदा, जनताले साथ र समर्थन दिइरहेका बेला पार्टी भित्रबाट असहयोग भएको पनि बताए ।

निर्वाचनका लागि द्विविधामुक्त भएर अगाडि बढ्नसमेत अर्थमन्त्री पौडेलले आग्रह गरे । अझै पनि केही मानिसहरु प्रतिनिधिसभा पुनःस्थापना हुन्छ की भन्ने भ्रमले छातिमा पोस्टर टाँसेर सडकमा बसिरहेको बताए । संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै सम्भावना नभएको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट