म्यानमारकी नेतृ आङ सान सूची पक्राउ-Sutra News

म्यानमारकी नेतृ आङ सान सूची पक्राउ

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

काठमाडौं- म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् । सेनाले सत्ता हत्याउने आशंकामा सरकार र सेनाबीच तनाब बढिरहेका बेला सूचीलाई पक्राउ गरिएको हो ।



गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ । तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ ।

सोमबार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ ।

पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सूचीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै ‘लगिएको’ बताएको बीबीसीले उल्लेख गरेको छ ।

‘म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु,’ उनले भने । उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए ।

बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएको बताएका छन् ।

म्यानमारको राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन् ।

सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिबार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट