अपांगता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण-Sutra News

अपांगता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

बझाङ- जिल्लाको खप्तडछान्ना गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण गरेको छ । गाउँपालिकाको कार्यालय घाँटखोलामा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले पालिकाभित्रका ‘क’ वर्गको अपांगता परिचयपत्र पाएका २९ जनालाई प्रतिव्यक्ति एक सेट रेडियो र एक न्यानो सिरक वितरण गरेको हो ।



अपांगता भएका व्यक्तिलाई चिसो मौसममा न्यानो कपडा सिरक र सूचना तथा जानकारीका लागि रेडियो वितरण गरेको थियो । गाउँपालिकाभित्र क, ख, ग, घ वर्गको अपांगता परिचयपत्र पाएका व्यक्ति धेरै भए पनि पहिलो चरणमा शाररीरिकरुपले अशक्त गाउँपालिकाभित्रका ‘क’ वर्गका सबै अपाङ्गता भएकालाई सानो राहत दिएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए ।

वार्षिक नीति तथा कार्यक्रममा असहाय, गरिब, अशक्तलाई विभिन्न चरणका सहयोग गर्ने कार्यक्रमअन्तर्गत रेडियो र सिरक वितरण गरेको उनले बताए । पालिकाले यसअघि पनि ज्येष्ठ नागरिकलाई चिसोयाममा सिरकसमेत वितरण गरेको थियो भने अपांगता भएका व्यक्तिलाई सीपमूलक तालीमसमेत दिएको थियो ।

गाउँपालिकाले सिरक र रेडियो दिएपछि रेडियो सुनेर ज्ञानविज्ञानका कुरा तथा सूचना समाचार सुन्नेर दिन काट्न सजिलो हुने र सिरकले पनि चिसोयाममा राहत मिलेको खप्तडछान्ना–६ का वीरबहादुर खड्काले बताए । उनीजस्तै अन्य सामग्री पाएका व्यक्ति पनि गाउँपालिकाले दिएको सहयोगप्रति खुसी भएका छन् ।

अपांगता भएका व्यक्तिको राहत सामग्रीका साथै क्षमता विकास, आयआर्जन र संस्थागत विकासका लागि पालिकाले काम गरिरहेको कर्मचारीले बताएका छन् । दुई सयको हाराहारीमा अपांगता भएका व्यक्ति रहेको खप्तडछान्ना गाउँपालिकामा अपांगता सञ्जालसमेत गठन गरी उनहरुको हकहित र क्षमता विकासका कामसमेत भइरहेको वडा नम्बर ७ का अध्यक्ष रामबहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट