पार्टी बल्ल निन्द्राबाट ब्युँझिएको छ, तीन करोड जनता हाम्रो साथमा छन् : प्रधानमन्त्री ओली-Sutra News

पार्टी बल्ल निन्द्राबाट ब्युँझिएको छ, तीन करोड जनता हाम्रो साथमा छन् : प्रधानमन्त्री ओली

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र उपद्रो मच्चाउने केही व्यक्तिले छाडेर केही असर नपर्ने टिप्पणी गरेका छन् । सोमबार नेपाल विद्युत प्राधिकरणको ढल्केबर सब स्टेशन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रै बसेर उपद्रो गर्नेहरूले छोडेर गएसँगैपार्टी चलायमान भएको दाबी गरेका हुन् ।



‘कहीँ देख्नुभएको छ, थाहा छ ? कहीँ नभएको जात्रा पार्टीभित्रै भएको छ, दुईचार जना विकास विरोधीहरू गएपछि बल्ल काम गर्ने वातावरण बनेको छ,’ उनले भने । ‘पार्टीभित्रका कस्ता व्यक्ति गए ? देश बनाउने खालका गए ? देशभक्ति भएका गए ? जनतालाई माया गर्ने गए ? के–को संकट तीन करोड जनता हाम्रो साथमा छन् ।’

प्रधानमन्त्री ओलीले तोकिएकै समयमा चुनाव हुने बताउँदै सबैलाई त्यसको तयारीमा लाग्न आग्रह गरे । ‘तपार्इंहरूले सुन्नुभएको छ, केपी ओली मधेश विरोधी हो भनेर प्रचार पनि गरियो, आज उसैले तराईमा ढल बनाएको छ, बाटो बनाएको छ, खेतमा सिँचाई पुर्याएको छ, मधेशको विकासमा लागेको छ, अनि कसरी मधेश विरोधी भयो ? हामी भावनामा बगेर हुँदैन । हामीले हाम्रो देश हाम्रो ठाउँ बनाउनुपर्छ,’ उनले भने ।

मधेशमा उद्योग कलकारखानाको ठूलो सम्भावना रहेको पनि उनले बताए । उनले भने, ‘यहाँ कृषिमा आधारित विभिन्न उद्योगहरू चलाउन सकिन्छ, तपाईंहरू बजारबाट नक्कली जुस ल्याएर खानुहुन्छ, त्यसमा आँपको तत्व हुँदैन, फ्लेभर मात्र हुन्छ । तपाईंलाई आँपको जुस खाने इच्छा छ भने सीधा रूखबाट पिटेर, मेसिनमा पिँधेर खानुस्, त्यसले स्वास्थ्यकाा लागि राम्रो हुन्छ ।’

यति उर्वर भूमि मधेशको हिजो किन विकास भएन ? विकास त सम्भव रहेछ, बाटो बन्दो रहेछ । तराईमा पनि ढल चाहिन्छ भन्ने कतिपयलाई लागेकै थिएन तर, हामीले त्यो गरेर देखायौं । अब नयाँ ढंगले देश विकास गर्नमा अघि बढनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पशुपतिमा जलारी राख्ने कुरामा पनि टिप्पणी हुने गरेको बताए । ‘मैले पशुपतिमा १ सय १ किलोको सुनको जलारी हालिदिने भएँ । परम्परा बिग्रिने भयो रे ? चाँदीको मात्रै हाल्नुपर्ने थियो रे मैले सुनको हालिदिने भएँ, तपाईंका हजुरबा हलो जोत्नुहुन्थ्यो तपाईं किन पत्रकारिता गर्नुहुन्छ ? मेरो बुवापनि प्रधानमन्त्री हुनुभएको थिएन, मैले त परम्परा तोडेरै प्रधानमन्त्री बनेँ । राम्रो कामका लागि परम्पराहरू तोडनुपर्छ, पछौटे कुरा भत्काइन्छ, नयाँ कुराहरू अगाडि बढाइन्छ ।’

कार्यक्रममा मिथिला नगरपालिकाले प्रधानमन्त्री ओलीलाई नगरबासीको तर्फबाट नागरिक अभिनन्दन गरेको थियो । आज उद्घाटन भएको प्रसारण लाइनबाट नेपालबाट भारतमा र भारतबाट नेपालमा ९ सय ४५ मेगावाट विद्युतको आदान प्रदान गर्न मिल्ने भएको छ । ढल्केवरमा नै निर्माण भइरहेको अन्य प्रसारण लाइनको काम जारी रहेको र सबैको निर्माण सकेपछि पूर्व र पश्चिम गरेर ४ हजार मेगावाट विद्युतको प्रसारण गर्न मिल्ने पनि नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

कार्यक्रममा उर्जा जलश्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलिकुमारी महतो, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतको उपस्थिति रहेको थियो ।

Oli-Kp .jpg

 

Dhalkebar v.jpg

Oli at Dhalkebar .jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट