विवादकाबीच संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई सपथ गराइयो-Sutra News

विवादकाबीच संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई सपथ गराइयो

बुधबार, २१ माघ २०७७

बुधबार, २१ माघ २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएकी छन् । बुधबार बिहान शितल निवासमा राष्ट्रपतिले नवनियुक्त पदाधिकारीहरुलाई सपथ गराएकी हुन् ।



पुस ३० गते बसेको संबैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायका रिक्त पदाधिकारी नियुक्तिको लागि सिफारिस गरेको थियो ।

लगत्तै माघ ५ गते प्रतिनिधिसभा विघटन भएपछि संवैधानिक व्यवस्था अनुसार परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुको संसदीय सनुवाई हुन सकेको थिएन । संसदीय सुनुवाई बिना नै सबै पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संसदीय सुनुवाई विशेष समिति संघीय संसद अन्र्तगतको संयुक्त समिति भएको र प्रतिनिधिसभा विघटन भएकाले सनुवाई संभव नभएको भन्दै प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले नियुक्तिको सिफारिस पत्रलाई परिषद्मा नै फिर्ता पठाएका थिए ।

संविधान अनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो ।

यद्यपि संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलिमा भने नियुक्ति सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ ।

यसैबीच सुनुवाई विना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट