काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्वासी संगठन केन्द्रीय कमिटीद्वारा बुधबार राजधानीमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा शेरबहादुरको अगाडि घुँडा टेक्ने अनि क्रान्तिकारी कम्युनिस्ट हुँ भन्ने ? भन्दै माधवमाथि कटाक्ष गरेका हुन् ।
‘माधव नेपाल १८ गते शेरबहादुरकहाँ गएका थिए, रामको अगाडि हनुमान बसेझैँ घुँडा टेकेर बसेका थिए । त्यसरी बसेर शेरबहादुरलाई दुई वर्ष ढुक्कले प्रधानमन्त्री हुनुस्, लेखेर दिन्छु, ल्याप्चे नै लगाउँछु भनेछन् । अनि यस्तो ल्याप्चे लगाउँछु भन्ने व्यक्तिले बाहिर निस्केर आफू कम्युनिस्ट हुँ भन्दै क्रान्त्रिकारीका गफ दिने मुकुण्डो खुइलियो,’ प्रधानमन्त्री ओलीले भने ।
ओलीले पार्टीबाट हटाउनुपर्ने केही नेताहरू आफै किनारा लागेको बताए । उनले पुष्पकमल दाहाल (प्रचण्ड) समूह किनारा लाग्दा पार्टी शुद्धिकरण भएको दाबी गरे ।
‘पार्टीमा शुद्धिकरण हुनुपथ्र्याे । पार्टी, पार्टी जसरी चलेकै थिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘उनीहरू आफ्नै ढंगले किनारा लागे ।’