काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’ को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन् । नेपाल भूमिहीन सुकुम्बासी संगठनको राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै ओलीले ‘जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो ?’ भनी प्रश्न गरेका हुन् ।
उनले जनताले बन्द नभई निर्वाचन चाहेको बताए । ‘बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्’, उनले भने ।
उनले कम्युनिस्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिस्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिस्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाए ।
उनले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र ‘समृद्ध नेपाल, र सुखी नेपाली’को आकांक्षा पूरा गर्ने बताए । प्रधानमन्त्री ओलीले जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने दाबी गरे । उनले सबै जिल्लामा सुकुम्बासी आयोग गठन भइसकाले काम अगाडि बढ्ने जानकारी दिए ।