काठमाडौं- नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् ।
ओली पक्षको आज आयोजित आमसभामा बोल्दै उनले मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको बताए । प्रचण्डले केहीदिन अघि भाषणमा शाकाहारी आन्दोलनबाट पार नलागेको भन्दै मांसाहारी आन्दोलनमा जानुपर्ने बताएका थिए । त्यसैलाई बादलले जवाफ दिएका हुन् ।
बादलले भने, ‘मांसाहारी आन्दोलनबाट नेतृत्वलाई अपदस्थ गर्ने घोषणा गरेका छन् । म उनीहरुलाई भन्न चाहन्छु मांशाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।’
आफ्नो सम्बोधनका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विस्थापित गर्न षडयन्त्र भएपछि चुनावमा जानुपरेको बताए । चुनाव पनि आन्दोलनको एउटा रूप भएको उनको भनाइ छ ।