संविधान रक्षाका लागि भगिरथ प्रयत्न गर्नेछु: सभामुख सापकोटा-Sutra News

संविधान रक्षाका लागि भगिरथ प्रयत्न गर्नेछु: सभामुख सापकोटा

शुक्रबार, २३ माघ २०७७

शुक्रबार, २३ माघ २०७७

काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शृङ्खलाबद्ध रूपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताएका छन् ।



सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले शृङ्खलाबद्ध रूपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्षण र सम्वद्र्धनको लागि आफू संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताएका हुन् ।

सभामुख सापकोटाले संसदीय सुनुवाई बिना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताए ।

असंवैधानिक रूपमा संसद् विघटन गरिएका कारण संसदीय सुनुवाई समितिमा सुनुवाई हुन नसक्ने स्थिति भएकाले सबै सक्कल कागज संवैधानिक परिषद्मा फिर्ता पठाइएको स्मरण गराउँदै उनले संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरित नियुक्ति गरिनु संविधान विपरित भएको बताए ।

संवैधानिक परिषद्को निर्णय रहस्यमयी र पारदर्शी नभएको उनको भनाइ छ । सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिदै सभामुख सापकोटाले संसद् बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह, परामर्श गरिरहेको बताए ।

आफूले जे गरे पनि राष्ट्रको हितमा केन्द्रीत भएर गर्ने भन्दै उनले आफू विवेकको आधारमा सत्यको अन्वेषण गर्न लागेको जानकारी दिए । देश र जनताको पक्षमा ठीक छ भन्ने आफ्नो चेतनाले निर्देशित ग¥यो भने विवेकको आधारमा काम गर्ने सभामुख सापकोटाले बताए ।

सभामुख सापकोटाले स्वेच्छाचारी ढंगले संविधानमाथि खेलवाड गर्दै संविधान विपरितका कार्यहरू थपिदै जाँदा भयावह अवस्थाको सिर्जना नहोस् भनी आफ्नो तर्फबाट भगिरथ प्रयत्न जारी राख्ने बताए ।

सभामुख सापकोटाले संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्धमा शुक्रबार नै सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट