तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए ।
कांग्रेसले मात्रै देश विकास गर्न सक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई सो अवसर प्राप्त भएको चर्चा गरे ।
‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ’, पौडेलले भने । वरिष्ठ नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ थियो ।
आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा आफूहरु रहेको भन्दै संयुक्त आन्दोलनको बारेमा अहिले नसोचिएको उनको भनाइ थियो ।
वरिष्ठ नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताए । पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, ‘एक वर्ष म्याद थप्न पाउने अवधि पनि सकिन लाग्यो, माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंगो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपर्छ ।’