काठमाडौं- बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै नेकपा (दाहाल–नेपाल) को विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ ।
अनेरास्ववियूले शनिबार राजधानीको माइतीघर मण्डलामा भागरथीका हत्यारालाई सार्वजनिक गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर’, ‘महिला हिंसा बन्द गर’ लगायतका नारा लगाएका थिए ।
बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथीको घर नजिकैको जंगलमा शव भेटिएको थियो ।
बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव जंगलमा फेला परेको थियो ।
उनको बलात्कारपछि हत्या गरिएको प्रहरीको आशंका छ । भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।