महिला राष्ट्रिय फुटबल लिगः रश्मी घिसिङको ह्याट्रिकमा आर्मी विजयी-Sutra News

महिला राष्ट्रिय फुटबल लिगः रश्मी घिसिङको ह्याट्रिकमा आर्मी विजयी

शनिबार, २४ माघ २०७७

शनिबार, २४ माघ २०७७

काठमाडौं- रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा शानदार जित निकालेको छ ।



सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा आर्मीले मोफसलको टोली चौदण्डीगढी नगरपालिमाथि ९–० को फराकिलो जित निकाल्दै दोस्रो चरणको खेलमा सुखद सुरुआत गरेको हो ।

जारी लिगमा चौदण्डीगढीमाथि आर्मीको यो लगातार दोस्रो जित हो । यसअघि बुधबार भएको पहिलो चरणको खेलमा कमजोर टोलीको रुपमा रहेको चौदण्डीगढीमाथि १२–० को फराकिलो जित हात पारेको थियो ।

लिगमा ७ खेल खेलेको आर्मी १६ अंकका साथ दोस्रो स्थानमा छ । जुन एक खेल कम खेल्दै शीर्ष स्थानमा बसेको एपिएफ भन्दा मात्र २ अंक कम हो । ६ खेलमा १० बटुलेको विराटनगर नगरपालिका तेस्रो स्थानमा छ ।

८ अंक जोडेको नेपाल पुुलिस क्लब चौथो, समान ८ अंक जोडेको वालिङ नगरपालिका पाँचौ, ३ अंक जोडेको चन्दपुर नगरपालिका छैटौ र ७ खेलको समाप्तीमा समेत अंक खाता खोल्न नसकेको चौदण्डीगढी नगरपालिका सातौ स्थानमा छ ।

चौदण्डीगढीले आर्मीविरुद्ध गोलकिपर दिपशिखा विश्वकर्मा, रक्षक एमित लेप्चा,मिडफिल्डर एन्जिला भुटिया र स्ट्राइकर सुजता राई जस्ता खेलाडी पहिलो रोजाईमा उतोरेपनि निरन्तर कमजोर प्रदर्शनमा भने पूर्णविराम लगाउन सकेन ।

आर्मीलाई फराकिलो जित निकाल्न रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो । यससँगै चौदण्डगढीले जारी लिगमा लगातार सातौ हार बेहोरेको छ ।

लिगअन्तर्गत आइतबार हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्दपुर नगरपालिका तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट