बैतडी- बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् ।
जिल्लाको पुर्चौडी नगरपालिका-१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षीया छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेका हुन् ।
शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
‘छोरीको हत्या गरेर बुवा फरार रहेका छन्,’ उनले भने, ‘घटना भएको सूचना पाएपछि पुरघाट प्रहरी चौकीबाट टोली खटिएको छ, थप कुरा आउन बाँकी छ ।’
घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ । घटनापश्चात फरार रहेका महराको खोजीकार्य तीब्र पारिएको छ ।
विवाहित छोरी एक महिनादेखि माइतमै बसीरहेकी बुझिएको छ । महराले छोरीमाथि किन गोली चलाए भन्ने खुल्न सकेको छैन ।