काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारलाई तालिमको जरुरी रहेको बताएका छन् ।
आइतबार आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारलाई तालिमको जरुरी रहेको बताएका हुन् ।
तालिमप्राप्त पत्रकार नहुँदा विकृति जन्मिएको भन्दै उनले पत्रकारको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारीता क्षेत्रको गुणस्तर नहुने भनाइ राखे ।
आफ्नो योग्यता, क्षमता र गुणस्तर बिना बजारमा बिक्री हुन्नौँ भन्ने हेक्का पत्रकारले पनि राख्नुपर्ने बताउँदै मन्त्री गुरुङले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने बताए ।
मन्त्री गुरुङले पत्रकारका लागि प्रशिक्षण प्रतिष्ठान खोल्न सरकारले नीति कार्यक्रममा ल्याउने बताए ।
उनले अनलाइन नविकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुने गरी नीतिगत निर्णय गरिएको भए पनि हुलाकका कार्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताए । पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नविकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उनको थप भनाइ छ ।
उनले पत्रकारको समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने बताए । पत्रकारहरुका लागि कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।