काठमाडौं- आन्दोलनरत नेकपा प्रचण्ड-नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले आइतबार सिंहदरबार घेराउ गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम चलाउ सरकारको संज्ञा दिँदै विज्ञप्तिसहित अनेरास्ववियूले तत्काल सरकारी पदबाट हट्न भन्दै सिंहदरबार घेराउ गरेका हुन् ।
घेराउपछि अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले भने, ‘देशमा अहिले कामचलाउ प्रधानमन्त्री मात्रै छन् । प्रधानमन्त्रीको कुर्सी खाली छ । केपी ओली काम चलाउ प्रधानमन्त्री भएकाले उनी आसेपासे र हनुमानहरुले घेरिएका छन् । उनी अहिले काठमाडौंको ढलभन्दा धेरै फोहोर राजनीति गर्ने एउटा दलाल हुन् । त्यसकारण हामी उनलाई यो ज्ञापन पत्र विरोधस्वरुप बुझाउन आएका छौँ ।’
जनाताको कर खाएर पार्टीको कार्यक्रममा देश दौडाहा गर्ने मन्त्री तथा सरकारी नेताहरुलाई जहाँ भेट्यो त्यहीं कारबाही गर्ने उनले चेतावनी दिए ।
उनले भने, ‘सरकारी तलबभत्ता र कर खाएर पार्टीको प्रचार गरेर हिड्ने मन्त्रीलाई जहाँ भेट्यो त्यहीं कारबाही गरौँ । सरकारी गाडीलाई निशेष गरौँ ।’
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा जुलुस गर्दै सिंहदरबार पुगेका थिए ।