महिला राष्ट्रिय लिग: चन्द्रपुरले विराटनगरमाथि रोमाञ्चक जित निकाल्दा पुलिस क्लब स्याङ्जासँग स्तब्ध-Sutra News

महिला राष्ट्रिय लिग: चन्द्रपुरले विराटनगरमाथि रोमाञ्चक जित निकाल्दा पुलिस क्लब स्याङ्जासँग स्तब्ध

आइतबार, २५ माघ २०७७

आइतबार, २५ माघ २०७७

काठमाडौं- रजनी थोकरको निर्णायक गोलको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले विराटनगर महानगरपालिकामाथि रोमाञ्चक जित निकाल्दा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब स्याङ्जा नगरपालिकासँग स्तब्ध भएको छ ।



अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको आजको पहिलो खेलमा चन्द्रपुरले विराटनगरलाई १-० ले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा चन्द्रपुरले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । ७० औं मिनेटमा रजनी थोकरले गरेको गोल निर्णायक बन्दा चन्द्रपुरले जारी लिगमा दोस्रो जित दर्ता गरेको हो ।

पहिलो चरणको खेलमा ५-० ले नतिजा सुम्पिएको चन्द्रपुरले जितसँगै बदला पनि लिएको छ । दोस्रो जित निकालेको चन्द्रपुरको ७ खेलबाट ६ अंक भएको छ । चन्द्रपुर तालिकाको छैटौं स्थानमा रहँदा समान खेलबाट १० अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा छ ।

लिगअन्तर्गत आजको दोस्रो खेलमा रुथो मेथुले ५८ औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिस वालिङसँग स्तब्ध भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस सुरुआतबाट दबाब दिँदै खेले पनि जित निकाल्न असफल रह्यो ।

जितसँगै वालिङले जारी लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले ७ खेलमा ११ अंक जोडेको छ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो ।

यस अघिको खेलमा पुलिस विराटनगरसँग पनि पराजित भएको थियो । यस अघि सम्पन्न पहिलो चरणको खेलमा पुलिस वालिङ सँग १-१ को बराबरी खेलेको थियो । लिगमा सोमबार एक खेल मात्र हुनेछ । अपराजित टोली एपिएफले तालिकामा अंक जोड्न नसेकेको चौदण्डीगढीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट