काठमाडौं- नेकपा प्रचण्ड-नेपाल पक्षका नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् ।
आइतबार ‘असंवैधानिक संसद् विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलन प्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन् ।
ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको प्रतिबद्धता समेत कमजोर भएको र माक्र्सवादलाई अवसरवादको रूपमा बुझि आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको भनाइ छ ।
अध्यक्ष नेपालले आफूहरूको संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए ।
संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उनको भनाइ छ ।
कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफूहरूको बाटो सहि रहेको उनले बताए ।