भागरथीको हत्यारा पत्ता लगाउन सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको माग-Sutra News

भागरथीको हत्यारा पत्ता लगाउन सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको माग

सोमबार, २६ माघ २०७७

सोमबार, २६ माघ २०७७

धनगढी- सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलले भागरथी भट्टको हत्याको सत्यतथ्य पत्ता लगाउन माग गरेको छ ।



आइतबार संसदीय दलले विज्ञप्ति जारी गर्दै भट्टको हत्या घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कञ्चनपुर, महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटना भएको दुई वर्ष बढी भइसक्यो, तर नेकपाको नालायक संघीय तथा प्रदेश सरकारले अझैसम्म पनि हत्या घटनाका दोषीहरुलाई पक्राउ गर्न सकेको छैन । भट्टको हत्या घटनामा संलग्न अपराधीहरुलाई छिटोभन्दा छिटो पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछौँ ।’

संसदीय दलका नेता रणबहादुर रावलद्वारा जारी विज्ञप्तिमा मृतक किशोरी भागरथीप्रति श्रद्धान्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै पीडितका परिवारलाई उचित राहतका लागि पनि माग गरिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीका १७ वर्षीया भागरथी भट्ट बुधबारदेखि हराएकी र बिहीबार बेलुका घर नजिकैको जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट