कैलाली- कैलालीमा आफ्नै प्रेमिकालाई हत्या गरेको आशंकामा वडा सदस्य पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीलाई प्रेमिका सञ्जिता चौधरीको हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिब विष्टले बताए ।
विष्टका अनुसार सञ्जिता चौधरी आइतबार बिहान वडा सदस्य चौधरीको घरमा कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन् ।
उनीहरु दुईजना बिच विगत १० वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुइँमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या भएको आशंका गरिएको छ ।
मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।