काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले गृहमन्त्री रामबहादुर थापालाई चिडियाखानामा गएर बस्न सुझाव दिएका छन् ।
सुशील कोइराला सोसलिस्ट युथ सर्कलले सोमबार काठमाडौंमा गरेको ‘संकटमा संविधान’ विषयक विचार गोठीमा बोल्दै रिजालले वर्तमान मन्त्रिपरिषदलाई नै चिडियाखाना घोषणा गर्नुपर्ने बताएका हुन् ।
‘मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । आज आफ्नै गुरु प्रचण्डलाई चिडियाखानामा हाल्छु भन्दै हुनुहुन्छ, रिजालले भने, ‘गृहमन्त्रीजी तपाईं आफैं चिडियाखानामा जानुस् या मन्त्रिपरिषदलाई नै चिडियाखाना घोषणा गर्नुस् ।’
माघ २३ गते नेकपा ओली समूहले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नेकपा दाहाल समूहलाई जावलाखेलको ‘जु’ मा लगेर थुनिन्छ भन्ने अभिव्यक्ति दिएका थिए ।