काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भए नेपाल ठूलो राजनीतिक भुमरीमा फस्ने बताएका छन् ।
नेपालबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गर्दै आएका पत्रकारहरूसँग मंगलबार काठमाडौंमा भएको भेटमा प्रचण्डले बाहिर सुन्नमा आएजस्तै सेटिङअनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भुमरीमा फस्ने चेतावनी दिएका हुन् ।
यद्यपि, आफूहरू संविधानको अक्षर र भावनाअनुसार नै न्यायालयबाट निर्णय आउनेमा विश्वस्त रहेको बताउँदै प्रचण्डले ओलीले संविधानभन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छजस्तो नलागेको उल्लेख गरे ।
असंवैधानिक र अलोकतान्त्रिक कदमअनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंवैधानिक नै हुने उनको तर्क छ ।
उनले भने, ‘यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भुमरीमा पर्छ । संवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंवैधानिक र अवैधानिक नै हुन्छ । यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने मान्छे ठान्नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाइ छ । यदि सेटिङ नै भएजसरी निर्णय भयो भने हामी गम्भीर ढंगले सोच्छौँ । त्यो निर्वाचनलाई हामीले सहज ढंगले लिन सक्ने स्थिति हुँदैन । नैतिक रूपले अनि राजनीतिक रूपमा निकै ठूलो प्रश्न खडा हुन्छ । हामी निर्वाचनविरोधी होइनौँ र हुन सक्तैनौँ, तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबर्जस्ती भनियो भने त्यो अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक निर्वाचनबारे हामीले गम्भीर रूपमा विचार गर्नुपर्ने नै हुन्छ ।’
प्रचण्डले प्रधानमन्त्री ओली आफैँले प्रतिगमन गरेर आफैँ प्रतिगमनविरुद्ध सभा आयोजना गर्नु आश्चर्यजनक रहेको टिप्पणी गरे । उनले सरकारको संविधानविरोधी कदमविरुद्ध आफूहरू संघर्षमा लाग्नु स्वाभाविक भए पनि सरकार पक्षले नै सभा गरेर तेस्रो जनआन्दोलन सुरु भयो भन्नु लोकतन्त्रको उपहास भएको बताए ।
उनले भने, ‘प्रधानमन्त्री आफैँले सभा गर्ने र ती सभाबाट तेस्रो जनआन्दोलन सुरु भयो भनेर प्रधानमन्त्रीनजिकका मान्छेहरूले सभामा बोल्ने, प्रतिगमनविरोधी तेस्रो जनआन्दोलन भन्ने । यो अनौठो कुरा नेपालमा देखियो । सायद पहिलोपटक देखियो प्रधानमन्त्री आफैँ विरोधमा उत्रने । केको विरोधमा हो ? यो अनौठो, अस्वाभाविक छ । यो लोकतन्त्रको उपहासजस्तो लाग्छ । एउटा प्रहसनजस्तो लाग्छ । हामी प्रतिस्पर्धामा होइनौँ । छटपटिएको चाहिँ प्रधानमन्त्री हो । उहाँ आत्तिनुभएको छ । अहिले उहाँ विक्षिप्त भएकोजस्तो हामीले महसुस गरेका छौँ ।’
प्रधानमन्त्रीले निरंकुश ढंगले आफ्नो शासन अवधि लम्ब्याउन खोजेको र त्यो पूरा नहुने ठोकुवा उनको छ । उनले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तर्राष्ट्रिय समुदायसँग समर्थनका लागि अपिल पनि गरिएको जानकारी दिए ।