कर्णालीका सात जिल्लामा संक्रमितको संख्या शून्य-Sutra News

कर्णालीका सात जिल्लामा संक्रमितको संख्या शून्य

बुधबार, २८ माघ २०७७

बुधबार, २८ माघ २०७७

वीरेन्द्रनगर- कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ ।



सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । 

दैलेखमा एक हजार छ सय ८४, जाजरकोटमा एक सय ५९, सल्यानमा छ सय ९३, रुकुम पश्चिम २५७, कालीकोटमा तीन सय ३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

ती जिल्लाका सबै सङ्क्रमित निको भएसँगै संक्रमण शून्य देखिएको हो । कर्णाली तीन जिल्लामा मात्र कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन् ।

सुर्खेतमा २७, जुम्लामा तीन र डोल्पामा एक जना गरी ३१ जना संक्रमित रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

तीमध्ये सुर्खेतको प्रदेश अस्पतालमा दुई तथा वीरेन्द्रनगरका २५ जना होम आइसोलेशनमा छन् भने जुम्लाको चन्दनाथ नगरपालिकामा तीन र डोल्पाको ठूली भेरीका एक जना पनि होम आइसोलेशनमा बसेका छन् । 

कर्णाली प्रदेशमा ९७ हजार २३९ जनामा पिसिआर परीक्षण गरिएकामा सात हजार पाँच सय ३४ जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमणका कारण कर्णालीमा ३१ जनाको मृत्यु भएको छ । त्यस्तै ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा हालसम्म १३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस विधिको परीक्षण सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट